दफा ४४५
बन्धकीमा लिएको सम्पत्ति लखबन्धकी दिन सक्ने

(१) कसैले बन्धकीमा लिएको सम्पत्ति वा त्यसको कुनै अंश त्यस सम्बन्धी लिखतमा उल्लेख भएको रकम बराबर वा त्यसभन्दा कम रकम लिई अन्य कसैलाई पुनः बन्धकीमा दिन सक्नेछ र त्यसरी पुनः बन्धकीमा दिएकोमा लख बन्धकी दिएको मानिनेछ ।तर बन्धकीमा लिएको सम्पत्तिमा भोगाधिकार कायम नभई लखबन्धकी दिन सकिने छैन ।
(२) उपदफा (१) बमोजिम दिएको लखबन्धकीको भोगचलन गर्ने अवधि बन्धकी अन्तर्गत भोगचलन गर्ने अवधिभन्दा बढी हुन सक्ने छैन ।
(३) सम्पत्तिमा हक र स्वामित्व हुने असामीले उपदफा (१) बमोजिम लखबन्धक दिएको सम्पत्ति फिर्ता लिन चाहेमा लखबन्धकी दिँदाको रकम शुरुको थैली बराबरको भएमा सिधै लखबन्धकी लिने व्यक्तिबाट र त्यस्तो रकमभन्दा कम रकम भए शुरुमा बन्धकी दिएको साहू मार्फत थैली भुक्तानी गरी सम्पत्ति फिर्ता लिन सक्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि शुरुमा बन्धकी दिँदाको शर्तको प्रतिकूल हुने गरी भएको लखबन्धकीको कारोबार त्यस हदसम्म स्वतः बदर हुनेछ ।
(५) यस परिच्छेद बमोजिम लखबन्धकी दिएको सम्पत्ति साहूले भोग गर्न नपाएमा त्यस्तो लखबन्धकीको लिखत कपाली सरह हुनेछ ।